अनिल यादव

सायद सत्यराज आचार्यले अहिले सबैभन्दा बढी उच्चारण गर्ने शब्द नै ‘साढे सात’ हो । उनी अभिनित यही नामको फिल्म शुक्रबारबाट प्रदर्शन हुँदैछ, जसमा उनले फोटोपत्रकारको भूमिका निर्वाह गरेका छन् । उनी खासगरी संगीतकर्मीका रुपमा चिनिए पनि यतिबेला फिल्मका कारण चर्चामा छन् । यसअघि ‘आचार्य’ र ‘कर्कश’मा अभिनय गरेका उनी पाँच वर्षपछि पर्दामा फर्कदैछन् । फिल्म रिलिजको पूर्वसन्ध्यामा उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः

दौडधुप व्यापक छ है ?

व्यापकताको पराकाष्ठा नै छ नि !

आफूलाई भन्न मन लागेको कुरा गीतमार्फत् नै अभिव्यक्त गर्ने बाटो हुँदाहुँदै एउटा गायकलाई अभिनेता किन बन्नुपर्ने रहेछ ?

गायक वास्तवमै एक्टर हो । हरेक गायकमा अभिनय कला लुकेको हुन्छ । कसैले दर्शाउँछन्, कसैले दर्शाउँदैनन् । उदाहरणका लागि स्वरुप (आचार्य) कै कुरा गरौँ, ऊ पनि राम्रो एक्टर थियो । हामी बच्चैदेखि नाटक गर्दा उसले राम्रो पर्फम गथ्र्यो तर उसले त्यसलाई लुकाउँदै गयो र गायनलाई बढी फोकस ग¥यो । मैले गायनसँगै अभिनयलाई पनि अघि बढाउँदै गएँ । त्यसैले म भन्ने गर्छु– हरेक गायकमा एउटा नायक लुकेको हुन्छ तर हरेक नायकमा गायक लुकेको हुँदैन ।

तपाईंले अभिनय गरेको पहिलो फिल्म ‘आचार्य’ आफ्नै बुबाको जीवनकथामाथि थियो । दोस्रो ‘कर्कश’ लागूऔषधको विषयमा थियो । अहिले ‘साढे सात’मा फोटोपत्रकारको भूमिकामा हुनुहुन्छ । बजारमा जस्ता फिल्म धेरै चलिरहेका छन्, बनिरहेका छन् त्यस्ता फिल्ममा तपाई खेलिरहनुभएको छैन, सधैँ यस्तो जोखिम किन ?

नो रिस्क, नो गेन ! स्वरुप र मैले सधैँ यसरी नै काम गरिरहेका छाँै । म्युजिकमा पनि त्यही नै हो । हामीले जहिल्यै म्युजिकको ट्रेन्डलाई ब्रेक गरेर अघि बढेका छौँ । ‘तिम्रो नशालु आँखाले मलाई मा¥यो’ होस् या क्लासिकलमा सरगम हालेर होस् या ‘सानो संसार’को ‘सायद मायामा फँसे कि’ भन्ने गीत होस्, सधैँ गइरहेको ट्रेन्डभन्दा अलि फरक गर्न खोज्यौँ । ‘साढे सात’ फिल्ममा पनि गजललाई नै राख्यौँ । फिल्म पनि थ्रिलर जान्रमा बनायौँ । सधैँ कुखुराका मासु खाइरहेका दर्शकलाई हामीले चम्सुर पालुङ्गो दिन खोजेका हौँ । सधँै एउटै स्वाद कति दिने ?

बजारमा जे बिक्छ, त्यही बेच्न खोज्नेहरुको भिडमा तपाईं फरक साबित गर्न खोजिरहनुभएको देखिन्छ । सेलिब्रिटी भएपछि हिट हुने मोह जाग्दैन ?

हिट पनि दुई किसिमको हुन्छ– एउटा प्रख्यात अर्को कुख्यात । के बन्ने त ? बिन लादेन पनि हिट हो, महात्मा गान्धी पनि । हामीले सधैँ नाच्ने भन्दा पनि बाँच्ने गीतमा बढी प्राथमिकता दिन्छौँ। सबै नाच्नेको पछि लागे भने बाँच्ने कसले बनाउने ? हाम्रो पनि चुट्के गीत, बजार तताउने गीत छन् । तर, हाम्रो जहिल्यै पनि टेस्ट भनेको अलिकति हेभी हुन्छ । १ महिने/१ हप्ते गीत बनाउन हामी पनि सक्छौँ । एक सिटिङमा गितारको कर्ड नै चेन्ज नगरी १० वटासम्म बनाइदिन सक्छु तर त्यसको के अर्थ ? हामीले जहिल्यै पनि काम गर्दा बुबा (भक्तराज आचार्य)लाई ध्यानमा राखेर काम गर्छौं । म जहिल्यै पनि पहिला आफ्ना लागि कम्पोज गर्छु, त्यसपछि दर्शकका लागि । एक्टिङका मामिलामा पनि त्यही नै हो । स्वरुप र म सधैँ एउटा कुरामा प्रतिबद्ध छौँ– हामी हिट या फ्लप त्यसलाई छोडौँ, राम्रो बनाआँै । सबैलाई थाहा भएकै हो– सबै हिट गीत राम्रा हुँदैनन्, सबै राम्रा गीत हिट हुँदैनन् ।

तपाईंले त ‘म बढी पैसाभन्दा पनि कलाका लागि काम गर्छु’ भन्ने आशयको कुरा गर्नुभयो नि !

हो । मलाई दीप श्रेष्ठ अंकलले के भन्नुहुन्थ्यो भने ‘राम्रो गीत गाउँदै जाऊ, पैसा भन्ने चिज आफैँ आउँछ’ । दिमागमा पहिल्यै पैसा भन्ने सोचेर काम गर्न थालियो भने सिर्जना स्तरीय हुनै सक्दैन । एक हप्ते गीत बनाए के काम भन्या ? अझै पनि नारायण गोपालका गीतहरु किन सुनिन्छन् त ? किनभने उनीहरु कहिल्यै पैसाका पछि लागेनन्, कलाका लागि काम गरे ।

अब फिल्मको कुरा गरौैं, पाँच वर्षपछि पर्दामा फर्कदै हुनुहुन्छ । ‘साढे सात’ नै किन तपाईंको कमब्याक फिल्म भयो ?

म कलाकार शिशिर बाङ्देलको रेस्टुराँ (झम्सिखेल)मा गइरहन्थे । उहाँले एक दिन वन लाइन स्टोरी सुनाउनुभयो । एउटा बन्द कोठाभित्र ३९ घण्टा दुई जना थुनिने कथा भन्नेबित्तिकै मलाई छोइहाल्यो । स्वरुपसँग सल्लाह भयो । निर्देशक साम्तेन भुटियालाई पनि सेयर गरे । त्यसपछि चारै जना बसेर साम्तेनको कोठामा गएर फिल्मको स्क्रिप्ट लेख्न थाल्यौँ । सुरुमा फिल्मको नाम ‘करेक्ट सात’ राखेका थियौँ । अचानक एक दिन हाम्रो ग्रुपमा गीतकार नरेशदेव पन्त र कलाकार सुनिल थापाको इन्ट्री भयो । नरेश दाइले ‘करेक्ट सात’ अलि मज्जा आएन, ‘साढे सात’ गरौँ न भन्ने सुझाव दिनुभयो । कुरा ठीकै लाग्यो । त्यसपछि शीर्षक परिवर्तन भयो, स्क्रिप्टमा पनि धेरै चेन्ज भयो । साढे सात दशा हो, टाइम पनि हो । २४ घण्टामा दुई पल्ट साढे सात बज्छ । साढे सात नराम्रो मात्रै होइन, राम्रो सूचक पनि हो । जस्तो मलाई १४ वर्ष साढे सातको दशा लागेको थियो । बल्ल मंसिर १ बाट छोड्यो । धेरै जना प्रधानमन्त्री÷मन्त्री साढे सात लागेको बेलै भएका रहेछन् ।

फिल्मको मूल थिम के हो ?

२०७२ सालको नाकाबन्दीपछि एउटा फोटोपत्रकारले भोगेको कथाका वरिपरि फिल्म घुमेको छ । घरमा उसको श्रीमती गर्भवती हुन्छे, त्यही पनि ऊ काममा खट्छ । रोचक कुरा, फिल्ममा साढे सात जनालाई नै दशा लागेको देखाइएको छ । पेटमा भएको बच्चालाई पनि ‘आधा मान्छे’को संज्ञा दिएका छौँ । फिल्ममा एउटा फटाहा प्रवृत्तिको चालक छ, जो प्रेसको नाममा कालोबजारी गर्छ । उसको माध्यमबाट फोटोपत्रकारको भेट एक यौनकर्मीसँग हुन पुग्छ । दुई जना गोदाममा थुनिन पुग्छन् । गोदामभित्र व्यक्त हुने दुई जनाको पोइन्ट अफ भ्यू, स्टेट अफ माइन्ड, संस्कार, बोलिचाली र व्यवहार वरपर फिल्म बगेको छ ।

पर्दामा फोटोपत्रकार भूमिका निर्वाह गर्नका लागि तपाईंले के–के वर्कआउट गर्नुभयो ?

फोटोपत्रकारले कस्तो खालको पहिरन लगाउँछन् ? बडी ल्याङ्गवेज कस्तो हुन्छ ? पोस्चरहरु कस्तो हुन्छ ? क्यामेरा कसरी ह्यान्डल गर्छन् ? अपरिपक्व क्यामेरामेनलाई फोटो खिच्दा बटन दबाउनेबित्तिकै औँला छाडिदिन्छ तर परिपक्व र व्यावसायिक फोटो जर्नालिस्टले कहिल्यै पनि औँला नछाड्ने रहेछ । मलाई पनि औँलालाई लयमा ल्याउन एकदमै गाह्रो भएको थियो । सुटिङमा जानु एक महिनाअघिसम्म त मैले लगातार फोटोमात्रै खिचिरहेँ । यति धेरै खिचेको छु कि खिच्दाखिच्दै राम्रो फोटो खिच्ने भइसकेछु । मैले खिचेका फोटोहरु फिल्मको प्रिमियरमा फ्रेम गरेर देखाउने कुरा पनि थियो तर डिलिट भएछ ।

भनेपछि फिल्मका लागि फोटोपत्रकार बन्न खोज्दा रियलमै राम्रो फोटोग्राफर बनियो ?

हो । रियलमै राम्रो फोटो खिच्न थालियो । पछि म डिरेक्सनमा जाने भएँ भने पनि यसले ठूलो मद्दत पु¥याउनेवाला छ ।

टेक्निकल कुराबाहेक फोटो पत्रकारसँग संगत पनि गरियो कि ?

गरियो । हाम्रो सिनेमाटोग्राफर अनिश तामाङ फोटोग्राफर पनि हो । उसले मलाई टेक्निकल कुराहरु धेरै सिकाएको हो । छतमा बसेर घण्टौँसम्म मैले क्यामेराको बटन दबाइरहन्थे, फोटो खिचिरहन्थे । यतिसम्म कि म एल्बमको विमोचनमा जाँदा मेरो आँखा नै फोटो पत्रकारतिर हुन्थ्यो । उनीहरुको खिच्ने स्टाइलदेखि हाउभाउसम्म सब नियाल्थेँ । अनि उनीहरुले लाउने कस्ट्युम कस्तो हुन्छ हेर्थें ।

फोटो पत्रकारको भूमिका निर्वाह गर्नुअघि उनीहरुलाई हेर्ने दृष्टिकोणमा अहिले केही फेरबदल भयो कि ?

अवश्य पनि । हामीले सुटिङस्थल (भैरहवा)मा म र शिशिर वाङ्देल कलाकारबाहेक लगभग सबै रियल क्यारेक्टर नै प्रयोग गरेका थियौँ । प्रहरी, आन्दोलनकारी, पत्रकार सबै स्थानीयलाई नै अभिनय गरायौँ । त्यतिबेला मैले के अनुभूत गरेँ भने डाक्टर, प्रहरीजस्तै रहेछ फोटोपत्रकारको जीवन पनि । प्राइभेट लाइफ नहुने रहेछ । रातबिरात भन्न नपाइने रहेछ । ज्यान जोखिममा पारेर भए पनि फोटो खिच्नुपर्ने अवस्था आउने रहेछ । पहिले पनि फोटोपत्रकारलाई सम्मान नगर्ने होइन, गर्थें तर यो पेसाको गम्भीरतालाई मैले पर्दामा निभाएपछि झनै महसुस गरेँ ।

फिल्मभित्र ४९ घण्टा यौनकर्मी महिलासँग थुनिएको कथा छ । रियलमा यौनकर्मीसँग संगत भएको छ ?

मैले यौनकर्मी देख्न त देख्या छु तर संगत गरेको छैन । निर्देशकले यौनकर्मीबारे यसरी बुझाइदिनुभयो कि मलाई यो भूमिकाका लागि यौनकर्मीसँग संगत गर्नै परेन । कहिलेकाहीँ ठमेल जाँदा मैले पनि यौनकर्मीको व्यवहार देखेकै हो ।

अघि तपाईंले ‘मलाई १४ वर्ष साढे सातको दशा लाग्यो’ भन्नुभयो । कसरी लागेको हो ?

म १४ वर्ष साढे सातको दशाले पीडित थिएँ । दशाभित्र अनावश्यक झगडा, अनावश्यक तर्क, दुर्घटना आदिइत्यादि पर्छन् । अस्ति मंसिर १ गतेबाट म यो दशाबाट मुक्त भएको छु । मेरी श्रीमती र मेरो बच्चा नै मैले गुमाएँ । त्योभन्दा ठूलो दशा अर्को के हुन सक्छ ? अरु त कति छन्, कति ! झगडा पर्ने, बच्चैदेखि सबैभन्दा बढी विश्वास गरेको साथी नै दुश्मन भए । मलाई त छोड्यो तर अहिले स्वरुप (भाइ)लाई साढे सात चलिरा’को छ । बुबालाई ११ वर्ष चल्यो ।

ज्योतिषशास्त्रमा खुब विश्वास गर्नुहुन्छ, हो ?

म चिना, ज्योतिष, भाग्यरेखामा एकदमै विश्वास राख्छु । जस्तो– सुन हरायो भने दशा लाग्छ भन्थे । अस्ति सुटिङताका मेरो सुन हरायो र म नराम्रोसँग बिरामी परेँ ।

अब फिल्म फ्ल्प भयो भने त्यो पनि साढे सातकै दशा हुने हो कि के हो ?

होइन, त्योचाहिँ मेरो दशा हुँदैन । कुनै पनि फिल्म राम्रो भएर चल्ने, नराम्रो भएर फ्लप हुने भन्ने मात्रै हुँदैन, लक पनि चाहिने रहेछ । बरु फिल्मको दशा हुन सक्छ त्यो । किनभने फिल्मले पनि दशा बोकेर आको हुन्छ अथवा लक लिएर आको हुन्छ । फिल्मको पनि भाग्य हुन्छ । ‘रेशम फिलिली’कै कुरा गरौँ । त्यत्रो हाइप बोकेको फिल्म, रिलिजकै दिन भुइँचालो गइदिएर बर्बाद भयो । कुनै सोच्दै नसोचेको फिल्म पूरै हिट भइदिन्छ । फिल्मको पनि भाग्य हुन्छ ।

फिल्मको व्यापारसँग त कलाकारको करिअर पनि जोडिएको हुँदैन र ?

व्यापारले कलाकारको करिअरमा धेरथोर प्रभाव त पारेको हुन्छ तर मेरालागि हिट÷फ्लपले त्यति महत्व राख्दैन । म मेरो कामप्रति पूर्ण विश्वास गर्छु । त्यसैले त्यो बजारमा चलोस्/नचलोस् म मतलब राख्दिन । म ब्याक टु ब्याक टु फिल्म खेल्ने मान्छे पनि होइन । ‘आचार्य’ गरिसकेपछि मात्र मैले ८ वटा फिल्म रिजेक्ट गरेँ । कारण– म जस्तोसुकै फिल्म खेल्न तयार छैन, स्क्रिप्ट र टिम चित्त बुझ्नै पर्छ ।

भनेपछि अभिनयमा तपाईंको पाँच वर्षको ग्याप चित्तबुझ्दो स्क्रिप्ट नपाएरै हो ?

हो । मलाई प्रोफेसनल एक्टर हुनु नै छैन । एउटा गलत फिल्मको निर्णयले मेरो २५ वर्षको म्युजिक करिअर जान्छ । मैले नमीठा र झुर गीतहरु पनि गाएको छु, प्रोफेसनल गीत पनि गाएको छु तर नराम्रो फिल्म भने मैले खेल्नु हुँदैन किनभने मेरो पेसा त सिंगर÷कम्पोजर हो नि । मलाई नाम, दाम सबै संगीतले दिएको हो । फिल्म त प्यासन मात्रै हो । त्यसैले मैले रोजेरै गर्नुपर्छ । म चर्चा कमाउने नाममा जे पनि गर्न तयार हुनुहुन्न । माधुरी दीक्षित हुने कि सन्नी लियोन ? ममा त्यसको राम्रो चेत छ । Nagarik Shukrabar