कलकत्ता– सुखदुःख मान्छेको जीवनमा यसरी सहभागी हुन्छन् कि जस्तो दिन र रात । दुःख परेपछि कोही मान्छे यसलाई महशुस गरेर त्यस्तो समाधान खोजी गर्छन् कि जसबाट पूरै समाज लाभवान्दित हुन्छ । एक समय यस्तो आउँछ कि उस्तै दुःख अरुले झेल्नुपर्दैन।

यस्तै एउटा सुरुवात गरे, भारतको पुनरी गाउँ निवासी सैदुल लश्कर नामका एक व्यक्तिले । जो पेशाले ट्याक्सी ड्राइभर हुन् । १२ वर्ष पहिले उनकी बहिनी उपचार नपाइ बितिन् । आफ्नो गाउँ नजिकै अस्पताल नभएका कारण अस्पताल पुर्‍याउन नपाई उनकी बहिनीको ज्यान गएको थियो । बहिनीको मृत्युबाट आहत बनेका लश्करले एउटा अनौठो सुरुवात गरे । उनले आफ्नो ट्याक्सीबाट यात्रा गर्नेसँग भाडाका अतिरिक्त अस्पताल बनाउने दान समेत माग्न सुरु गरिदिए।

१२ वर्षपछि उनको सपना पूरा भयो । कलकत्ता भन्दा ५५ किलोमिटर टाढा रहेको पुनरी गाउँमा मरुर्पा स्मृति वेलफेयर फाउन्डेशनको नाममा ३६ करोड भारुमा अस्पताल बनेको छ । मरुर्पा लश्करकी दिवंगत बहिनीको नाम हो । यस अस्पतालको सुरुवात यिनै ट्याक्सी ड्राइभर लश्करले गरे । अब यस वरिपरिका झन्डै सयवटा गाउँको यो अस्पताल भरोसाको केन्द्र बन्नेछ । ६ बेडबाट सुरु गरिएको अस्पताल आगामी ६ महिनामै ३० बेडको बनाउने लक्ष्य लश्करले लिएका छन्।

यहाँ अहिले १२ डाक्टरको समूह बिरामीको उपचारमा तैनाथ छ । एक्स–रे इसिजी मेसिनका साथ २० रुपैयाँ ओपिडि शुल्क छ । औषधिको निःशुल्क छ । यी सवै सेवा सुविधा विभिन्न गैर सरकारी संस्थाद्वारा ग्यारेन्टी गरिएको छ । उनीहरुले उक्त खर्च उठाएका छन्।

२३ वर्षकी सृष्टि घोषले यो अस्पतालको उद्घाटन गरेकी हुन् । उनी यस नजिकैको कालिकापुर गाउँकी मेकानिकल इञ्जिनियर हुन् । उनले आफ्नो पहिलो महिनाको तलब अस्पताललाई दान दिएकी छिन् । सृष्टि र उनकी आमा लश्करको ट्याक्सीमा जब पहिलोपल्ट बसेका थिए, उनीहरुले अस्पतालको लागि सय रुपैयाँ दान दिएका थिए । चेन्नईमा नोकरी गर्ने उनी लामो समय यता आउन पाइनन् । तर, अस्पताललाई दान दिनका लागि उनले पहिलो महिनाको कमाइ बचत गरेकी थिइन् । उनी पहिल्यै ट्याक्सी ड्राइभरको महान् कामबाट प्रेरित भएकी थिइन् । कमाउने भएपछि सहयोग गर्नु उनले आफ्नो कर्तव्य सम्झेकी छिन्।

सच्चा सेवी भावनाबाट कुनै कार्यको सूरु गर्नु चुनौती हुन्छ । जग्गा किन्नका लागि तीन लाख रुपैयाँ जुटाउन लश्करका लागि निकै कठिन थियो । अफ्नी श्रीमतीको गहना बेचेर उनले अस्पतालका लागि जग्गा किनेका हुन् । लश्करकी पत्नी शमीमाले उनलाई सधैं भरपुर सहयोग गरिन् । लश्कर अब यही अस्पतालमै नर्सिङ शिक्षा सुरु गर्न चाहन्छन् । जसले गाउँकी केटीहरु स्वास्थ्य सेवामा समाहित हुन सक्ने सपना उनले देखेका छन्।

अस्पतालको लागि लश्करले १२ वर्षअघि गरेको सुरुवातको यो पूर्णता होइन । प्रगतिपथको एउटा ठूलो मिसाइलका रुपमा अथ्र्याइएको छ । यो बिचमा धेरै सहयोगी हातहरु उनीसँग जोडिएका छन् । उनीहरुको प्रतिबद्धता छ, ‘अस्पतालका लागि चाहिने अरु सबै बाँकी खर्च हामी जुटाउनेछाै‌ं ।’

एक साधारण ट्याक्सी चालकले चालेको यो कदम अहिले सय गाउँका बिरामी रक्षाको अचुक अस्त्र बनेको छ । नेता र स्थानीय सरकारका प्रतिनिधी उनीसँग आँखा जुधाउन सक्दैनन्।

उनी त आफ्नो कर्तव्यमा अझै उसैगरी लागेका छन् । मिटरमा ट्याक्सी पनि उही गतिमा कुदेकै छ । फरक यत्ति छ, सुरुवातमा लश्कर एक्लै थिए, अहिले उनका पछाडि सहयोगीको लश्कर छ। केनफोलिओज डटकमबाट अनुदित