काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सानिमा बैंकले थप दुई वर्षको लागि प्रायोजन सम्झौता नवीकरण गरेको छ। इन्डियन प्रिमियर लिग आइपीएलमा छनोट हुने पहिलो खेलाडी बनेका सन्दीपलाई सानिमा बैंकले बिहीबार सम्मान गर्दै दुई वर्षको लागि सम्झौता थप गरेको हो।

सानिमा बैंकका सिईओ भुवन दाहालले दुई वर्षको लागि सम्झौता नविकरण गरेको र सम्झौता रकम यसअघिको भन्दा दोब्बर रहेको बताए। ‘हामीले दुई वर्षको लागि सम्झौता थप गरेका छौँ। यसअघि मासिक २० हजार थियो अब मासिक ४० हजार भएको छ।’ दाहालले भने। सिईओ दाहाल र सन्दीपले सम्झौतापत्रमा आदानप्रदान गरे। भिडियो हेर्नुस्

सन् २०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकपमा शनसनी प्रदर्शन गरेपछि क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) सँगको सहकार्यमा सन्दीपले सानिमा बैंकको साथ पाएका थिए। त्यसयता सन्दीपले सिनियर टिममा डेब्यु गर्दै हङकङ र अष्ट्रेलियामा समेत खेलिसकेका छन् भने आइपीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी समेत बनेका छन्। दिल्ली डेयर डेभिल्सले बेस प्राइज २० लाख भारुमा सन्दीपलाई किनेको हो।

कार्यक्रममा बैंकले सन्दीप र नेपाली टिमका कप्तान पारस खड्कालाई सम्मान गरेको थियो। गत साता नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा शीर्ष २ रहेर विश्वकप छनोट प्रतियोगिताका लागि छानिएकोमा बैंकले सम्मान गरेको हो। डिभिजन–२ मा सन्दीपले सबैभन्दा बढी विकेट र पारसले सबैभन्दा बढ रन बनाएका थिए। दुवै जनालाई हास्यकलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले मायाको चिनो दिँदै सम्मान गरेका थिए। आचार्य र श्रेष्ठले नेपाली क्रिकेट खेलाडीले देशको नाम उचो राखेको भन्दै धन्यवाद दिए।

यता बिहीबार नै राष्ट्रिय टिमका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले मासिक २० हजारका दर २ वर्षको प्रायोजन गरेको छ। दुवै खेलाडीलाई प्रायोजन गराउनका लागि क्रिकेट खेलाडी संघ नेपालले पहल गरेको हो।