पथरी, मोरङ, ११ फागुन: कथाकार शरण राईद्वारा लिखित ‘अन्तिम आयाम’ कथासंग्रहको बिहीबार बेलुका विराटनगरमा विमोचन गरिएको छ ।

बिहीबार आयोजित कार्यालयमा प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले कथासंग्रहको विमोचन गर्नुभयो । लिटररी एशोसिएशन, धरानको आयोजनामा प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा तुम्बाहाङले कथासंग्रहको विमोचन गर्नुभएको हो ।

साढे चार दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय राईका यसअघि विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित भइसकेका छन् ।

पाँचपोखरी प्रकाशन गृह, काठमाडौँले प्रकाशित गरेको संग्रहमा विभिन्न विषयवस्तुलाई समेटेर लेखेका १७ वटा कथा छन् । डा गोपाल भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा टंक न्यौपाने, रमेश शुभेच्छुक र भोलानाथ पोखरेलले समीक्षा गर्नुभएको थियो ।

कथामा वृद्धवृद्धाका समस्या र संरक्षण अभावलाई सशक्तरुपमा उठान गरिएको उहाँहरूले बताउनुभयो । कार्यक्रममा साहित्यकार कुन्ता शर्मा, कविराज न्यौपाने, गोकुल अधिकारी, अग्रज पत्रकार शिवबहादुर कार्कीलगायतले राईको कथासंग्रहले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो । रासस