क्यानबेरा,११ फागुन । आफ्नै कार्यकक्षमा कार्यरत भुतपूर्व कर्मचारीसँगको सम्बन्धका कारण विवादमा तानिएका अस्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबे जोयसले उपप्रधानमन्त्रीे पदबाट राजीनामा दिएका छन् ।

नेशनल पार्टीका तर्फबाट सांसद बनेका जोयस आफ्नै कार्यलयमा कार्यरत महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको भन्दै सर्वत्र आलोचना खेपेका थिए ।

विपक्षी दल लेबरले पछिल्लो समय उपप्रधानमन्त्रीको कर्मचारीसँगको सम्बन्धलाई प्रमुख राजनीतिक विषय बनाएको थियो । नैतिकता र सामाजिक मुल्यसँग जोडेर जोयसको यो घटनालाई राजनीतिक मुद्वा बनाइएपछि प्रधानमन्त्री माल्कर्म टर्नबुल पनि अप्ठ्यारोमा परेका थिए । सर्वत्र आलोचना र चर्को दवावपछि प्रधानमन्त्री टर्नबुलले सांसद र कर्मचारीबीच हुने सम्बन्धलाई अब उपरान्त अवैध मानिने घोषणा गर्दै उपप्रधानमन्त्री जोयस विदामा बस्ने बताएका थिए ।

यो मामिल नितान्त व्यक्तीगत भन्दै आफ्नो बचाउ गर्दै आएका जोयस पछिल्लो समय आफ्नै पार्टीका सांसदहरुले साथ छोडेपछि निकै दवावमा परेका थिए । यसैबीच जोयसले पद त्यागको घोषणा गरेका हुन् ।

अपरान्ह २ बजे पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री जोयसले विवाद उठिसकेपछि राजीनामा दिनु उपयुक्त भएको भन्दै राजीनामा दिएको बताए । तर उपप्रधानमन्त्री जोयसले आफुले सांसद पदबाट भने राजीनामा नदिने बताएका छन् । उनले भनेका छन्, ‘कारण जे सुकै भएपनि विवादमा आइसकेपछि अघिल्लो बेन्चमा बस्नु उपयुक्त हुँदैन । त्यसैले उपप्रधानमन्त्री पदबाट राजीनामा दिएपनि सांसद पदिमा भने कायमै रहन्छु र पछाडी बसेर सबैकुरा नियाल्छु ।’

विवादमा तानिएकै कारण प्रधानमन्त्री टर्नबुलले वरिष्ठताका आधारमा जोयसले पाउनुपर्ने कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री माथियषेस कोम्र्यानलाई थमाएर अमेरिका उडेका थिए ।-नेपालीपत्रबाट