–सुमन घिमिरे

उर्लाबारी, मोरङ, १२ फागुन : प्रदेश नं १ को प्रदेश सरकार विभिन्न शहीद भूमिमा नमूना बस्ती निर्माण गर्ने निर्णय गर्दै यस क्षेत्रको विकास, समृद्धि र सम्भावनाको अध्ययनमा जुटिसकेको छ ।

देशका सात प्रदेशमध्ये प्रदेश नं १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल देखिएको छ । यहाँ कृषि, जलस्रोत र पर्यटनका सम्भावना छ । प्रदेशमा यसअघिका अञ्चल मेचीका चार, कोशीका छ र सगरमाथाका छमध्ये चार गरी १४ जिल्ला समेटिएका छन् । पच्चीस हजार ९०५ वकिमी क्षेत्रफलको सो प्रदेशको जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३छ । विसं २०६८ को जनगणनानुसार जनघनत्व १७५ दशमलब ०६ छ । ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुसहित तीन जिल्ला हिमाल, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलामसहित आठ जिल्ला पहाड तथा झापा, मोरङ र सुनसरी तराईका जिल्ला हुन् । एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ वटा गाउँपालिका सो प्रदेशमा छन् ।

धार्मिकस्थलः प्रदेश नं १ धार्मिक क्षेत्रको हिसाबले निकै महत्वपूर्ण मानिएको छ । प्रदेशमा ताप्लेजुङको पाथीभरादेखि खोटाङको हलेसी हुँदै सुनसरीको बराहक्षेत्र, बूढासुब्बा, पिण्डेश्वरीजस्ता महत्वपूर्ण धार्मिक क्षेत्र छन् । प्रदेशमा धनकुटाको छिन्ताङदेवी, मोरङको सुनवर्षी, झापाको कन्काई धाम, शिवसताक्षीजस्ता धार्मिक क्षेत्र छन् ।

पर्यटनः उच्च सगरमाथादेखि देशकै होचो भूभाग झापाको केचनासम्म रहेको सो प्रदेशमा पर्यटनको प्रचूर सम्भावना बोकेका धेरै स्थान छन् । मोरङका मिक्लाजुङ डाँडा, जेफाले डाँडा र बेतेना सिमसार, झापाको केचनाकलन, जामुनखाडी सिमसार र अर्जुनधारा, इलामका अन्तुडाँडा र कन्याम, पाँचथरको जोरपोखरी, ताप्लेजुङको पाथीभरा र कञ्चनजंघा हिमशृङ्खला क्षेत्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र, धनकुटाका भेडेटार र नाम्जे, भोजपुरका ट्याम्के र मैयुङ डाँडा, तेह्रथुमको गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्र, संखुवासभाका सभापोखरी, मत्स्यपोखरी र जौबारी महादेव गुफा, सोलुखुम्बुका सगरमाथा, ल्होत्से र चोयु हिमाल, खोटाङका बराहपोखरी र ट्याम्के डाँडा, उदयपुरका जाल्पादेवी, लिम्पाटार र रौतापोखरी तथा ओखलढुंगाको सतासीधामजस्ता पर्यटन क्षेत्र प्रचूर सम्भावना बोकेका क्षेत्र हुन् ।

वर्तमान प्रदेश सरकारले मुख्यमुख्य पर्यटन क्षेत्रको गुरुयोजना नै तयार पारेर संवद्र्धनमा अघि बढ्नुपर्ने मोरङ क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्य कुलप्रसाद साँवा बताउनुहुन्छ । सिएनएनले गरेको सर्वेक्षणमा विश्वकै १२औँ उत्कृष्टमध्ये आठौँ उत्कृष्ट गन्तव्यको सूचीमा सूचीकृत धनकुटाको नाम्जे प्रचारप्रसार र पूर्वाधार नहुँदा ओझेलमा परेको नाम्जे होमस्टेका अध्यक्ष अनिलकुमार रानाको गुनासो छ । प्रदेश सरकारले यस क्षेत्रमा पूर्वाधार विकास गरी प्रचारप्रसारमा सहयोग पु¥याए विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा विकास हुने उहाँको भनाइ छ ।

कृषिः तराईका झापा र मोरङ अन्न उत्पादनका भण्डार मानिन्छन् । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउने हो भने यी जिल्लाले सिंगो प्रदेशलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्ने क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका सूचना अधिकृत राजेन्द्र उप्रेती बताउनुहुन्छ । यी क्षेत्रमा वार्षिक सरदर १२ लाख बढी मेट्रिक टन धान उत्पादन हुन्छ । प्रदेशमा मकै, गहुँ, अमलिसो, अदुवा, अलैँची, चिया, आलुलगायत पनि उत्पादन हुन्छ । गत साउनदेखि कात्तिकसम्म मात्रै प्रदेशका जोगवनी र काँकडभिट्टा नाकाबाट रु दुई अर्बभन्दा बढीको कृषिउपज (जुट बाहेक) भारत र बंगलादेश निर्यात भएको थियो ।

औद्योगिक व्यापारः नेपालकै पहिलो उद्योग विराटनगर जुट मिलदेखि लिएर अहिले सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा दर्जनौँ ठूला उद्योग छन् । सो करिडोर क्षेत्रमा सानाठूला गरी ५०० भन्दा बढी उद्योग सञ्चालनमा छन् । मधेश, पहाड र हिमालसम्म सडक सञ्जाल पुगेको प्रदेशमा उत्तर दक्षिणका ठूला व्यापारिक नाकाका कारण अझै व्यापक बनेको छ । चीनको नाका किमाथांका, ओलाङचुङङ्गोला तथा दक्षिणमा पशुपतिनगर, काँकडभिट्टा, जोगबनी तथा भण्टाबारी नाका चर्चित छन् । उत्तरका नाका चालु अवस्थामा नभए पनि दक्षिणका नाका अहिले सञ्चालनमै रहेको छ । सडक सञ्जाललाई व्यवस्थित बनाउँदै उत्तर चीनसँग जोडिएका नाका पनि सञ्चालनमा ल्याउन सके यस प्रदेशमा अझै औद्योगिक व्यापार फस्टाउने देखिएको विज्ञ बताउँछन् ।

नेपालमा पहिलो पटक संघीयता लागू भएको अवस्थामा यसको कार्यान्वयनका लागि तीनै तहका सरकारबीच आपसी सहकार्य हुनुपर्ने मोरङ उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो बताउनुहुन्छ । स्थानीय तहसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गरेर मात्र अगाडि बढ्नुपर्ने उहाँको धारणा छ । ठोस नीति बनाएर पर्यटन, कृषि र औद्योगिक क्षेत्रमा लगानी गरे प्रदेशको सम्पन्नताका लागि आधार तयार हुने उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई बताउनुहुन्छ । रासस