बालाजुस्थित फुलबारीमा अचेत अवस्थामा फेला परेका नुवाकोट सूर्यगडी गाँउपालिका ३ का कुमार सुचिकारलाई उनकै साथीले हत्या गरी फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

गत माघ २७ गते बिहानै अचेत अवस्थामा फेला परेका सुचीकारको उपचारकै क्रममा ट्रमा सेन्टरमा सोही दिन मृत्यु भएको थियो।

सुचिकारलाई उनकै साथीहरूले फेसबुकको विषयलाई लिएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सेतोपाटीमा खबर छ ।

राजधानीको गोगंबुस्थित गणेश हिमाल विद्यालयमा कक्षा १० मा अध्यनरत सुचीकारलाई फेकबुक ग्रुपबाट हटाएको भन्दै उनका साथीले हत्या गरेको प्रहरीले बताएको छ।

सुचीकारको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले तार्केश्वर नगरपालिका ४ का १७ वर्षिय समिर मर्हजन, सोही ठाँउका सुजन महर्जन, आईसिङ तामाङ, विशाल पुतुवार, दिनेश नगरकोटी, निर्मल मर्हजन, पेमा गेल्जे शेर्पा र राजन मगर गरी ८ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी विश्वराज खड्काले सेतोपाटीलाई जानकारी दिए।

प्रहरीका अनुसार सुचीकार लगायत केही युवाहरुको ‘गुहेश्वरी’ नामको एक फेसबुक ग्रुप बनाएका थिए।

उक्त ग्रुपबाट सुचीकारले केही साथीलाई हटाएपछि बदला लिन उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी खड्काले जानकारी दिए।

आफूहरूलाई नसोधेर फेसबुक ग्रुपमा ब्लक गरेको भन्दै पक्राउ परेका अभियुक्तले सुचीकारलाई भेट्न बोलाएर हत्या गरेको अनुसन्धानबाट खुलेको खड्काले जानकारी दिए। उनका अनुसार मृतक सुचीकारलाई एक जना युवतीले फुलबारीमा भेट्न बोलाएकी थिइन्। उनी त्यहाँ पुग्नुभन्दा अगाडि ग्रुपका साथीहरु पुगेका थिए।

ग्रुपमा ब्लक गरेकै विषयलाई लिएर सुचीकारलाई साथीहरूले इट्टाले टाउकोमा हानेका थिए। त्यसपछि उनको मृत्यु भएको ठानेर नजिकैको नालीमा फालेर उनीहरु आफ्नो बाटो लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सुचीकारले प्रयोग गर्दै आएको मोवाईल र सिम कार्ड पक्राउ परेका विशाल पुतुवारले प्रयोग गरेको भेटिएपछि त्यसका आधारमा अनुसन्धान अघि बढाइको डिएसपी खड्काले जनाए।

पक्राउ परेका ८ जनालाई कर्तव्य ज्यान मुद्दा चलाई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।