काठमाडौं । साझा यातायातले बुधबारदेखि काठमाडौं उपत्यकामा ‘सेमी लो फ्लोर’ बस सञ्चालन गर्ने गर्ने भएको छ। साझाका निमित्त कार्यकारी अधिकृत महेन्द्र पाण्डेयका अनुसार बुधबार सवा १ बजे काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए। अन्नपूर्णपोस्टमा खबर छ ।

बसले अस्पताललाई ध्यानमा राखेर रुट निर्धारण गरेको छ। पाण्डेयका अनुसार बस लगनखेलस्थित पाटन अस्पतालदेखि गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीसम्म सञ्चालन हुनेछ र सोही रुटबाट फर्किने छ।

अहिले साझाको यो बसले पाटन अस्पतालदेखि, अल्का, निदान, प्रसूती गृह (थापाथली), नर्भिक, त्रिपुरेश्वर आँखा अस्पताल, वीर, कान्ति बाल, टिचिङ हुँदै गंगालाल अस्पतालसम्मको रुट पाएको छ। बस समान रुटबाट आवतजावत गर्ने कार्यकारी अधिृकत पाण्डेयले अन्नपूर्णलाई जानकारी दिए।

उनका अनुसार बस अपांगमैत्री भएकाले साझा यातायातले अस्पताललाई लक्षित गरेर रुट तय गरेको हो। ‘बसमा ह्विल चियर सजिलै छिराउन सकिन्छ’, कार्यकारी अधिकृत पाण्डेयले भने, ‘अपांगमैत्री छ, यो बस चढ्न एक स्टेप मात्र छ।’

राजधानीको सार्वजनिक यातायात नाजुक भइरहेकै बेलामा साझाले ठूला नयाँ बस सञ्चालनमा ल्यायो। लगत्तै युरो थ्री मापदण्डको अपांगमैत्री बस ल्याएको हो। सार्वजनिक यातायात सुविधाजनक बनाउन राम्रा बसहरू ल्याएको साझाले बताएको छ। ‘

‘सेमी लो फ्लोर’ बसको ग्राउन्ड क्लियरेन्स कम भएकाले खाल्डाखुल्डी सडकमा चलाउन सकिँदैन। काठमाडौको अधिकांश भेगका सडकमा खाल्डाखुल्डी छन्। साझाले भित्र्याएको अशोक लेल्यान्डको ‘सेमी लो फ्लोर’ बसको मूल्य एक करोड ३० लाख रुपैयाँ पर्छ। तर, नमुनाका रूपमा सञ्चालन गर्न ल्याएको बस कम्पनीले सहुलियतमा दिएको हो। साझाका अनुसार करसहित ३५ लाख रुपैयाँमा बस काठमाडौं आइपुगेको छ।