काठमाडौं । स्टार हस्पिटलले स्थापनाकालको ११औँ वर्ष पूरा गरेको अवसरमा आज साइकल र्‍यालीको आयोजना गरेको छ। साताव्यापी कार्यक्रम मनाउने क्रममा साइकल र्‍याली गरिएको हो। Riding Cycle for a Longer Lifecycle नाराका साथ स्टार हस्पिटलको प्रांगणबाट सुरु भएको र्‍याली पुलचोक, पाटन दरबार स्क्वायर, नयाँ बानेश्वर, माइतीघर, न्युरोड, कालिमाटी हुँदै करिब ३० किमी यात्रा पूरा गरी कीर्तिपुर पुगेर सकिएको थियो।

दिनप्रतिदिन बिग्रँदै गइरहेको उपत्यकाको प्रदूषण घटाउन आम जनसमुदायमा जनचेतना फैलाउन पनि साइकल र्‍यालीको आयोजना गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले बताए। स्वास्थ्यखबरमा समाचार छ ।

साइकलयात्रीलाई ध्यानमा राखी अस्पताल परिसरमा साइकल स्ट्यान्डको निर्माण गरिने पनि उनले जानकारी दिए।

वर्ल्ड साइकल टुर क्याम्पेनसँगको सहकार्यमा आयोजना गरिएको र्‍यालीमा करिब ३ सय साइकलयात्री सहभागी थिए। सहभागीहरुलाई अस्पतालले उपचार सेवामा डिस्काउन्ट कार्डको व्यवस्था गरेको अस्पतालका सिअोअो डा सन्देश जिसीले जानकारी दिए।

र्‍याली हुनुअघि उद्घाटन गर्दै जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले काठमाडौंलाई साइकलमैत्री बनाउँदै मास्करहित लगाउनु नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए।

कार्यक्रममा विश्व साइकलयात्री पुस्कर शाहलाई सम्मानित गरिएको थियो।