एउटा परिवारको आशाको केन्द्र, जो केहीहप्तामै अष्ट्रेलिया उड्दै थिई, उच्चशिक्षाका लागि । जब अनयासै अकल्पनीय खबरसहित उनकी आमाको फोनमा घन्टी बज्यो, अस्पतालमा गएर हेर्दा आफ्नी छोरी अस्मिताको ट्रिपरले हानेर मृत्यु भइसकेको थियो । छोरीलाई यस्तो अवस्थामा देख्दा कस्तो हुन्छ होला ती आमाबुवा अनि सम्पूर्ण परिवारको हालत ?

हरेक दिन, हरेक बिहान जब अमेरिकामा मेरो निन्द्रा टुट्छ, नेपाली सञ्चार माध्यममा एउटा न एउटा ट्रक वा ट्रिपरले मान्छे किचेर मरेको खबर आएकै हुन्छ । लाग्छ, बरु कुकुर बिरालोको जीवनको मूल्य होला, तर मनिसको जिन्दगीको कुनै मूल्य छैन मेरो मुलुकमा । जून १३ तारिखका दिन बिहानै एउटा भयानक तस्वीर फेसबुकमा आयो । टि्रपरमा दन्दनी आगो बलेको दृश्य थियो त्यहाँ । टि्रपरले स्कुटरलाई ठक्कर दिएर एक युवतीको मृत्यु भएको खबर थियो त्यहाँ ।

हरे, आज फेरि राजाधानीको जडीबुडीको सडकमा कसलाई किच्यो टि्रपरले ? हरे भगवान भन्न आयो मेरो मुखमा । दिउँसो अस्मिता भण्डारीको मृत्युको भयानक खबर आयो ।
ओहो ! गाडीबाट नै मैले नेपालमा फोन गरें । कसैको फोन उठेन । फेरि गरें । शैलेन्द्र (अस्मिता भण्डारीका ठुलोबुवा) को फोन उठ्यो । के भएको हो भनेर सोधें । शैलेन्द्रले अहिले भर्खर घर आइपुग्यौं, नरेन्द्र र बिमलाको स्थिति सम्हाल्नै नसक्ने भएको छ भने ।

यतिखेरसम्म अस्मिता संसारबाट धेरै टाढा, हामी कसैले कहिल्यै देख्न, भेट्न नपाउने गरी अस्तु भैसकेकी रहिछन् । मलाई आफैंलाई पनि कन्ट्रोल गर्न गाह्रो भइरहेका बेलामा नरेन्द्र (अस्मिताका बुवा) बोली क्यै नबुझिने गरी बेसम्हाल रोइरहेको सुनें । बिमला (अस्मिताकी आमा) उनी त झन मुटु नै फुट्लाजस्तै गरी रुँदै थिइन् । मेरी आफ्नै ठुल्दिदी (अस्मिताकी हजुरआमा) म क्यै बोल्न सक्दिनँ नानु भन्दै रोइरहनुभएको थियो । अस्मिताका दाजु (आशिष भण्डारी) र उनका ठूलाबुवा अनि सम्पूर्ण परिवारसँग बोल्ने कुनै अवस्था नै थिएन ।

अस्मिता भण्डारीको भयानक मृत्युवरण एउटा उदाहरणका रुपमा मात्र लेखेकी हुँ । यस्तै अवस्था धेरै परिवरमा भैरहेको छ, नेपालमा । निर्दोषहरुको ज्यान गइरहेको छ । तर, मेरो देशको कानुन निदाइरहेको छ ।

यस्तै करिब ७/८ बर्ष अगाडि म मेरो बैंक ठमेल ब्राञ्चमा आफ्नो रूममा काम गर्दै थिएँ । मेरा एकजना स्टाफ बहिनी सन्तोषी कार्की मेरो रूमभित्र एकदमै आतिएको अनुहार लिएर पसिन् । म्याम ‘मेरो दाजुलाई ट्रिपरले ठक्कर दिएर वहाँलाई अस्पातल लगेको छ भनेर फोन आयो ।’

मैले भनें- हुन्छ जाउ, यहाँ बैंकको काम अरु साथीहरुले मिलाउँछन् । उनी गइन् । भोलिपल्ट बिहान उनलाई फोन गरें । कस्तो छ दाजुलाई ? तिमी अस्पातलमै हो ? उनी त एक्कैचोटि चिच्याएर रुन थलिन् । दाजु हुनुहुन्न । टि्रपरले ब्याक गरेर किचेर मार्‍यो ।

उनका दाजु इभिनिङ वाकजस्तो हिँड्दै थिए रे । ट्रिपरले ठक्कर दिएछ र लडेछन् । त्यसपछि ट्रिपरले ब्याक गरेर किचेर मारेछ । उनका दाजुको त्यो अप्रत्याशित निधनले परिवारको अवस्था कस्तो भयो होला ?

यो त मैले नजिकबाट देखे सुनेको घटना हो, यस्ता घटना हरेक दिनजसो भइरहेका छन् । हामी समाचार लेख्छौं, बिरोध गर्छौं, आगो लाउछौं । तर, ट्रिपर ड्राइभरलाई यस्ता कुनै घटना र आक्रोशले केही फरक पार्दैन । अझ भनौं, कुनै असर पारिरहेको देखिएको छैन ।

अस्मिता भण्डारी, जो जम्माजम्मी २२/२३ वर्षकी जवान छोरी । कति दुःखजिलो गरेर आमाबाबाले पढाइरहेका । अझै अगाडि पढ्न उच्च शिक्षाका लागि अष्ट्रेलिया उड्ने तयारीमा थिइन् । उनी एक्लै सबै कुरा मिलाउँदै थिइन् विना कसैको सहयोग ।
कति मेहनत गरी होली ? कति संघर्ष गर्नुपर्‍यो होला सबै जाँच अनि कागज पत्र मिलाउन ? कति सपना साँचेकी थिई होली उसले ?

हिजो म बिमला (अस्मिताकी मम्मी) लाई उनको पीडा अलिकति हलुंगो बनाउन फोन गर्दै थिएँ । हेल्लो, भन्नेबित्तिकै उनको रोदन क्रन्दन मात्र सुनें । सानिमा कसरी चित्त बुझाउँ ? कत्ति मन बुझाउन खोज्छु, सक्दै सक्दिनँ सानिमा भन्दै रुँदै भनिन्- सबै कुरा आफैं एक्लै गरिरहेकी थिई । ममी म यसो गर्छु, उसो गर्छु भन्थी । सानिमा म अब त्यो घरमा कसरी फर्केर जाउँ ?’

एउटी आमाको रोदनले मेरो मुटु फुट्ला जस्तै भयो ।

मैले सुने अनुसार अस्मिता चढेको स्कुटरलाई ट्रिपरले ठक्कर दिएछ । उनी सडकतिर लडिछन । त्यहाँबाट उठ्न खोज्दा ट्रिपरले ब्याक गरेर हाम्री प्यारी अस्मितालाई किचेर मृत्युवरण गराएछ ।

जब बीएण्डबी हस्पिटलबाट उनको मृत्युको घोषणा गरेर शव बाहिर निकालियो, अस्मिताको अनुहार धपक्क परेको गोरा, ओठको रातो लिपिस्टिक पनि क्यै भएको थिएन भन्दै थिए उनका ठूलोबुवा वीरेन्द्र भण्डारी ।

कस्तो अवस्था भयो होला परिवारको स्थिति ? के यस्तोलाई – दुर्घटना भनेर सम्झिन मिल्छ ? कि ट्रिपर ड्राइभर हत्यारा हो ? के नाम दिने यो घटनालाई ?

क्यै गरी आफ्नो ट्रिपरले ठक्कर दिएको मान्छे घाइते भयो भने मैले आजीवन उपचार गराउनुपर्छ, बरु त्योभन्दा ब्याक गरेर किचेर मार्दिन्छु भन्ने दिमागमा सेट भएको ड्राइभर हत्यारा होइन र ? बन्दुकले हत्या गर्नु र ट्रक वा टि्रपर ब्याक गरेर मान्छे मार्नुमा फरक के छ ?

हरेक ट्रक, ट्रिपर, अरु ठूला ठूला बसका ड्राइभरका दिमागमा मान्छे मारेपछि २ बर्ष जेल वा केही जरिवाना त हो नि भन्नेखालको कानुन दिएर मेरो समाजका हामी प्राणीहरुले के शिक्षित गराइरहेका छौ ? के यसको जिम्मेवार मेरो देशको कानुन होइन र ?

कसले दिने कडा कानुन ? ती ड्राइभरहरु, जो मानिस ठोक्कियो भने ब्याक गरेर मार्दिने हो भन्ने दिमाग लिएर स्टेरिङ्ग समाएर सडकमा बेपर्वाह रफ्तारमा गुडी रहेकाछन्, तिनलाई कसले शिक्षा दिने ?

खबरदार, तिमी ड्राइभरहरुले मानिसलाई यस्तो आशयले ब्याक गरेर किचेर मार्छौ भने तिमीहरु आजीवन जेल पर्ने छौ । जुन कुरा मेरो देशमा यस्तो नयाँ कानुन आएको छ भनेर, गाउँगाउँमा हरेक ड्राइभरलाई किन शिक्षा दिने वातावरण बनाउन सक्दैनन् कानुनको जिम्मा लिनेहरुले ? कि हामी नेपाली यति धेरै क्षमाशील भएका हौं ? जहाँ हरेक दिनजसो टि्रपरले ब्याक गरेर मान्छे मर्दा पनि केही गर्न सकिरहेका छैनौं ?

के हामी नेपालीको जिन्दगी ट्रक र टि्रपरको ज्यादतीका अगाडि कुकुर बिरालोको जति पनि मूल्यवान छैन ? कि कानुनसम्म यो आवाज नै पुगेको छैन ?

यो रोदन होइन । यो क्रन्दन पनि होइन । तर, मानिसहरु मेरो नेपालको सडकमा आˆनो गतिमा बाँच्न र गुड्न पाउने आधिकारको हनन होइन र ? के यो मानिसको बाँच्न पाउने मानव अधिकार हनन भएको होइन र ? आखिर कहाँनेर समस्या छ टि्रपर वा ट्रकका ड्राइभरको यस्तो ज्यादतीबिरुद्ध कडा कानुन ल्याउन ?

कति-कति पत्रकारले लेखे, कतिले अझै लेख्दैछन् । हरेक दिनजसो हरेक छापाहरुमा टि्रपर र ट्रकको ज्यादतीविरुद्ध शब्दहरु आइरहेका छन् । तर, के त्यो आवाज मेरो देशको कानुन बनाउनेसम्म नपुगेको हो कि के भएको हो ? कैले आँखा खोल्छ मेरो देशको कानुनले ? कसले जगाउँछ सुतिरहेको मेरो देशको कानुनलाई ?

प्यारी अस्मिता, तिम्रो बाँच्ने सपना सबै अपुरै रहृयो । कति के-के गरौंला भन्ने थियो होला । तिमी राम्री थियौ, साहसिली थियौ, हिम्मतिली थियौ । एक्लै लक्ष प्राप्त गर्ने विश्वासमा थियौ । तिम्रा ती सुन्दर आँखाहरुले थुप्रै सुन्दर सपना सजाएका थिए । अजङ्गको एउटा टि्रपर तिम्रो अगाडि आयो । लडेर पनि तिमी उठ्न खोज्यौ आˆना सपना सम्झिँदै । तर, त्यो निर्दयीले तिमीलाई किचेर जबर्जस्त मृत्युवरण गराइदियो ।

एउटा फोटो देखें । यतै कतै सञ्चारमा । तिमी मस्त निद्रामा निदाएजस्तै । त्यै निद्रामै तिमी हामी सबैलाई छोडी गयौ, त्यो उज्यालो मुहार लिएर । छोडेर गयौ हामी सारा परिवारलाई रुवाएर । प्यारी नातिनी अस्मिता, तिम्रो आत्माको शान्तिको कामना गर्दै तिमीप्रति अश्रुपूर्ण श्रद्धाञ्जली । अन्त्यमा फेरि पनि सोध्छुु- पटकपटक सोध्दै छ मेरो मनले- कैले आँखा खोलिदिने मेरो देशको कानुनलाई ? कसले जगाउने सुतिरहेको मेरो देशको कानुनदातालाई ? साभार श्राेतः अनलाइनखबर