काठमाडौं। रियल इस्टेट क्षेत्रमा चिरपरिचित कम्पनी सिभिल होम्स्ले ३७ लाख रुपैयाँमै अपार्टमेन्ट दिने गरी नयाँ परियोजना ल्याएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु सातौं घरजग्गा मेला (प्रोपर्टी एक्स्पो)को अवसर पारेर कम्पनीले यो परियोजना लञ्च गरेको छ ।

‘न्यून–मध्यम आय वर्गका एकल परिवार (न्यूक्लियर फेमिली)लाई लक्षित गरेर सस्तो मूल्यको अपार्टमेन्ट ल्याएका हौं,’ सिभिल समूहका अध्यक्ष ई. इच्छाराज तामाङले भने, ‘यो मुल्य घरजग्गा मेलाभरि ५ दिनका लागि मात्रै हो । त्यसपछि कसैले पनि यो मुल्यमा पाउनेछैन ।’

सिभिलले ल्याएको यो अपार्टमेन्ट राजधानीमा अहिले भएकामध्ये सबैभन्दा सस्तो भएको तामाङको दाबी छ । एक्स्पो सुरु हुनुअघि उनले घरजग्गा मेलामा अविश्वसनीय सस्तो मुल्यमा घर तथा अपार्टमेन्ट उपलब्ध हुने बताएका थिए ।

सिभिलले धापाखेलमा निर्माणाधीन ‘सिभिल होम्स् फेज–४’को परिसरभित्रै यो अपार्टमेन्ट परियोजना ल्याएको हो । यसमा न्यूनतम ३७ लाख रुपैयाँ मुल्य राखिएको इकाइ भने ‘स्टुडियो अपार्टमेन्ट’ हुनेछ । जसमा एक बेडरुम, बाथरुम, किचेन/डाइनिङ तथा लिभिङ एरिया र बाल्कोनी आउनेछ ।

यो ‘स्टुडियो अपार्टमेन्ट’ ३१८.३३ वर्गफिट क्षेत्रफलको हुने कम्पनीले जानकारी दिएको छ । अपार्टमेन्ट खरिदका लागि बैंक कर्जाका लागि पनि कम्पनीले सहजीकरण गरिदिने बताएको छ ।

१२५ रोपनी क्षेत्रफल रहेको ‘सिभिल होम्स् फेज–४’ परियोजनामा कुल ३०० छुट्टाछुट्टै घर रहनेछन् । यस्तै, टावर ‘ए’ र टावर बी गरी थप दुई अपार्टमेन्ट (संयुक्त आवास) भवन पनि सँगै हुनेछ । त्यसमध्ये ७५ अपार्टमेन्ट इकाइको टावर ‘बी’ निर्माण भइसकेको छ ।

फेज ४ भित्र टावर ‘ए’ र टावर बी गरी दुई अपार्टमेन्ट (संयुक्त आवास) भवन हुने कम्पनीले बताएको छ । यसमा कुल ८५ अपार्टमेन्ट इकाइ हुनेछन् ।

सुरुमा दुवै टावरमा समान (७५/७५) इकाइ बनाउने योजना कम्पनीको थियो । २०७२ को भूकम्पअघि एउटा टावरको निर्माण पूरा भएकोमा भूकम्पपछि दोस्रो टावरको निर्माण रोकिएको थियो । तर अहिले टावर ‘ए’को पनि निर्माण सुरु गरेर २ तल्लाको संरचना उठाइसकेको कम्पनीले जानकारी दिएको छ ।

घरजग्गा मेलामा होम लोन : ९.९५ प्रतिशत ब्याजदर, ३५ वर्ष कर्जा अवधि

अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएर घरजग्गा खरिद तथा निर्माण गर्न चाहनेका लागि त्यति सहज छैन अवस्था । बैंकहरुले तरलता अभावको कारण देखाउँदै खुलेर कर्जा प्रवाह गरेका छैनन् भने अर्कोतर्फ कर्जाको ब्याजदर पनि महँगिएको छ । आवास कर्जामा बैंकहरुको सामान्य ब्याजदर १३ प्रतिशतभन्दा माथि पुगेको छ ।

यस्तो अवस्थामा बैंकबाट कर्जा लिएर घरजग्गा खरिद वा घर निर्माण गर्न चाहनेका लागि काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु प्रोपर्टी एक्स्पो (घरजग्गा मेला) एउटा राम्रो प्लेटफर्म हुन सक्छ ।

एक्स्पोमा स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, एनआइसी, सिभिल, एनएमबी, सनराइज लगायत आधा दर्जन वाणिज्य बैंकहरु सहभागी भएका छन् । यी बैंकहरुले घरजग्गा खरिदका लागि अधिकतम १५ देखि ३५ वर्षसम्मको कर्जा प्रदान गर्ने बताएका छन् । उक्त बैंकहरुले घरजग्गा मेलामा उपलब्ध गराउने आवास कर्जाको न्यूनतम ब्याजदर ९.९५ प्रतिशतदेखि १३ प्रतिशतसम्म रहेको छ ।

एक्स्पोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा सस्ताे ब्याजदरमा हाेम लाेन दिने याेजना अघि सारेकाे छ । यसले घर किन्न वा बनाउनका लागि ९.९५ प्रतिशत ब्याजदरमै कर्जा दिने स्किम ल्याएकाे छ । यस्तै, १०.९५ प्रतिशत ब्याजमा जग्गा खरिदका लागि कर्जा दिनेछ । हाेम लाेनकाे अवधि १८ वर्षसम्म र जग्गा खरिद कर्जा १० वर्षसम्मका लागि दिने बैंकका विजनेश डेभलपमेन्ट एग्जुकेटिभ अायुष्मान श्रेष्ठले जानकारी दिए ।

एभरेष्ट बैंकले बेस रेट (८.१८%) मा थप २.१५ देखि २.६५ प्रतिशत मात्र ब्याजदर जोडेर होम लोन दिने बताएको छ । अर्थात् होम लोनको ब्याजदर १०.३३ प्रतिशतदेखि बढीमा १०.८३ प्रतिशत मात्र पर्नेछ । मेलामा सहभागी बैंकहरुमध्ये एभरेष्टले निर्धारण गरेको होम लोनको ब्याजदर सबैभन्दा सस्तो हो ।

एभरेष्टलले घर खरिद तथा निर्माणका लागि डिस्ट्रेस भ्यालुको ७० प्रतिशतमा र जग्गा किन्न ५० प्रतिशतसम्म कर्जा दिने जानकारी दिएको छ । तर जग्गाका लागि कर्जा लिँदा २ वर्षभित्र घर बनाइसक्नुपर्ने सर्त राखिने मेलामा उपस्थित बैंक प्रतिनिधीले बताए ।

यस्तै, एनएमबी बैंकले नेपालमै सबैभन्दा लामो अवधिको आवास कर्जा दिइरहेको छ । एनएमबीले ३५ वर्षसम्ममा तिर्दा हुने गरी तत्कालका लागि १३ प्रतिशत ब्याजमा आवास कर्जा दिने जानकारी दिएको छ । तर ग्राहकको उमेरका आधारमा उसले कति वर्षसम्मका लागि कर्जा पाउने भन्ने तय हुनेछ ।

सिभिल बैंकले पनि अहिले बजारमा प्रचलित दरभन्दा केही सस्तोमै होम लोन दिने बतायो । यसले मेला अवधिभरका लागि आधार दर (बेस रेट) मै (अतिरिक्त स्प्रेड नजोडि) घर निर्माण तथा खरिदका लागि कर्जा दिइने जानकारी गरायो । सिभिलको बेस रेट अहिले १२.३६ प्रतिशत रहेको छ ।

सनराइज बैंकले मेला अवलोकनकर्ताका लागि नियमित ब्याजदरमा ०.५ प्रतिशत छुट दिने जनाएको छ । यसले तत्काल १३.५ प्रतिशत ब्याज लाग्ने गरी बढीमा २० वर्षसम्मको आवास कर्जा दिँदैछ ।

अघिल्लो वर्ष सबैभन्दा सस्तो ब्याजदरमा होम लोन दिएको एनआइसी एशियाले यो वर्ष भने तरलता अभावका कारण कर्जाभनदा निक्षेपलाई बढी प्राथमिकता दिएर १२ प्रतिशत ब्याज दिने डिजोजिट स्किम ल्याएको छ ।

यद्यपि यसले तत्काल १४ प्रतिशत ब्याजदरमा होम दिइने जनाएको छ । आउँदो साउनबाट भने केही सस्तो दरमा होम लोन दिने स्किम आउन सक्ने मेलामा सहभागि बैंकका कर्मचारीले बताए ।

मेलामा सहभागि प्राय बैंकहरुले कर्जा दिँदा एक पटकका लागि कुल कर्जा रकमको १ प्रतिशत सेवा शुल्क लाग्ने बताएका छन् । सिभिलले भने डेढ करोडसम्मको होम लोनमा सेवा शुल्क ०.५ प्रतिशत मात्रै लिने बताएको छ । सोभन्दा बढी रकमको ऋणमा भने ग्राहकले ०.७५ प्रतिशत सेवा शुल्क तिर्नुपर्ने हुन्छ । यस्तो ऋण भने व्यक्तिगत कर्जाअन्तर्गत राखेर दिने सिभिलका मेलामा उपस्थित प्रतिनिधीको भनाइ छ ।

कर्जा लिनका लागि सम्पत्ति धितो राख्नुपर्ने शर्त सबै बैंकले राखेका छन् । यसबाहेक कर्जा दिँदा मासिक किस्ता रकम (इएमआइ) भुक्तानी गर्नसक्ने क्षमता पनि बैंकले हेर्छ ।

एभरेष्ट बैंकले कर्जा योग्यताका लागि ग्राहकको मासिक आम्दानी किस्ता रकम (इएमआइ)को कम्तिमा दोब्बर हुनुपर्ने तोकेको छ । मेलामा सहभागि अन्य बैंकहरुले भने कर्जा रकम खाम्ने गरी धितो राखिने सम्पत्तिको मुल्यांकन र इएमआइ तिर्न सक्ने आम्दानी छ/छैन भन्ने हेर्ने बताए ।

प्रायः सबै बैंकले आवश्यक कागजात पूरा गरेको ३ दिनदेखि बढीमा एक हप्ताभित्र कर्जा भुक्तानी गरिसक्ने बताएका छन् । सिभिलले भने बढीमा प्रक्रिया पूरा १० कार्यदिन लाग्ने जनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई व्यक्तिगत प्रयोजनको घरजग्गा खरिद तथा निर्माणका लागि उपत्यकाभित्र धितो सम्पत्तिको मूल्यांकनमा फेयर मार्केट भ्यालुको ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशतसम्म लगानी गर्न पाउने तोकेको छ ।

घरजग्गा मेलाका लागि ल्याइएको कर्जा सहुलियत स्टल भ्रमणकर्ताका लागि मेलापछि बढीमा १५ दिनसम्म दिने सम्बन्धित बैंकहरुले बताएका छन् ।

– प्रोपर्टीटुडे