२६ वर्षका देवेन्द्र १५ दिन पहिले मात्रै पिता बनेका थिए । सन्तान प्राप्तिको खुसीमा घरमा पूजा भएको थियो । पूरै परिवार खुसी थिए । तर, केही मिनेटमै यस्तो घटना भयो जसको कसैलाई आभाससम्म थिएन । गोबरग्यासको खाल्डोले ५ मिनेटमै एकै परिवारका ४ जनाको ज्यान लियो ।

हरियाणाको कुरुक्षेत्रका बलदेव सिंहको घरपछाडि गोबरग्यासको प्लान्ट थियो जसलाई मर्मत गरिएको थियो । पहिले साधारण प्लान्ट भएकोमा पछि मटका प्लान्ट बनाइएको थियो जसको खाल्डोमा मान्छे पनि तल जान मिल्छ । विगत २ दिनदेखि ग्यास चुलोसम्म राम्रोसँग पुगेको थिएन । परिवारलाई ग्यास लिक भएको आशंका थियो । घरमा पूजा सकिएपछि दिउँसो ११ बजेतिर घरका पुरुषहरु कुरा गर्दै घरपछाडि पुगे ।

त्यसपछि देवेन्द्रले गोबरग्यास कहाँबाट लिक भएको छ भनी खोज्ने प्रयास गरे । उनले भर्याङ लगाएर खाल्डोमा तल गए । तल जानासाथ उनी बेहोस भए । लगत्तै उनलाई बचाउन भाइ रुपिन्द्र तल गए । उनी पनि तल पुग्नासाथ बेहोस भए । दुवै छोरा बेहोस देखेपछि पिता बलदेव बचाउन तल गए तर उनी पनि बेहोस भए । तीनजना बेहोस भएपछि छिमेकमा बस्ने बलदेवका दाजुका छोरा जोगिन्द्र त्यहाँ पुगे । उनी पनि तीनजनालाई बचाउन तल गए उनी पनि बेहोस भए । यो सबै ५ मिनेटभित्रै भएको बताइएको छ ।

सूचना पाएपछि गोबरग्यासका मिस्त्री परमजीत पनि साथहिरुसँग घटनास्थल गए । डोरी बाँधेर परमजीतलाई तल पठाइयो । उनी २ सिढी पनि तल नपुग्दै अचानक उनको सास रोकियो । उनी बेहास हुन लागेपछि माथि भएकाले उनलाई ताने । उनको भने ज्यान बच्यो ।

विशेष शुत्रका अनुसार खाल्डोमा कार्बन मोनोअक्साइड र मिथेन ग्यास भरिएको हुन सक्छ । कार्बन मोनोअक्साइड अत्यन्त घातक ग्यास हो । यद्यपि मृत्यु कार्बन मोनोअक्साइडकै कारण भएको हो वा अन्य कारणले भन्ने पोष्टमार्टमपछि मात्र थाहा हुने बताइएको छ ।