काठमाडौं, १४ साउन । अहिले कैलाश मानसरोवर तिब्बतमा परे तापनि यो क्षेत्रमा नेपाल, भारतलगायत विश्वका हिन्दु तीर्थयात्रीहरू आवतजावत गर्न स्वतन्त्र छन्। हरेक हिन्दु तथा बौद्धहरू कैलाश मानसरोवरमा विनारोकटोक यात्रा गर्न स्वतन्त्र रहन्छन्। गोसाइँकुण्डको पनि ठूलो महिमा छ।

महाभारत कालमा युद्धको समाप्तीपछि हिमाल जाँदा पाण्डवहरूले प्रायश्चित्तस्वरूप पशुपतिनाथको पूजा गरेका र लिच्छवि वंशका पहिला राजा ‘विक्रमादित्य’को उपाधि धारण गरेर ‘वैशालाधिपति’का रूपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तीसपुलतीमा आफ्नो सिंहासन कायम गरेका र उनैबाट कासीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला वंशावली र हिमवत्खण्डमा उल्लेख छ। हिमवत्खण्डका स–साना टुक्रामा विभाजित हिन्दु राज्यहरूलाई गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकृत भई हिमवत्खण्ड–नेपाल सुरक्षित छ।

पवित्रभूमिका रूपमा सुरक्षित हुँदैआएको सार्वभौम–नेपालको विश्वमा ठूलो प्रतिष्ठा छ। भारतमा चार धाम प्रसिद्ध छन् भने नेपालमा नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, वराहक्षेत्र, जनकपुरधाम, लुम्बिनी, बौद्धनाथ, पाथिभराजस्ता प्रसिद्ध थामहरू छन्।

आराध्यदेव पशुपतिनाथको ठूलो महिमा छ। पशुपतिनाथलगायत नेपाल, भारत र विश्वका कैयौँ शिव मन्दिर, महादेवस्थान, गोकाइँकुण्ड, पिण्डेश्वर, डोलेश्वर महादेवलगायत अनेकौँ शिवालयहरूमा शिवरात्रि, अक्षयतृतीया, एकादशी, साउनको सोमबार, बालाचतुर्दशी, तीज, गोकर्णे औँशी, स्वस्थानी आदि दिनहरूमा भगवान्को आराधनाका लागि हिन्दुहरूको घुइँचो लाग्छ। हिन्दु तथा बौद्धहरूले पशुपतिनाथका साथै अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा मान्छन्। पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शम्भु, ज्योतिर्लिङ्ग आदि विभिन्न नामले पुकार्ने गरिन्छ। साउनको सोमबार शिवजीको जन्मदिन स्वरूप भक्तिपूर्वक धुमधामसाथ मनाइन्छ। साउनको सोमबारमा बोलबमको नाममा राता र पहेँला वज्र लगाएका महिला पुरुषहरूबाट पवित्र नदीहरूको जल घडामा लिएर पशुपतिनाथ र शिवमूर्तिहरूमा भक्तिपूर्वक चढाउने कार्य हुन्छ । निधारमा टिका लगाएका भक्तजनहरूको मेला र भेलाले पशुपतिनाथ, गोसाइँकुण्ड, पाटनको कुम्भेश्वर, धरानको पीण्डेश्वर सिंहारिएको हुन्छ। समय समयमा राजनीतिक परिवर्तन हुँदै आए तापनि हाम्रा धाम र मन्दिरहरूको परम्परागत मान्यता र पहिचान बचाउने कार्य हुँदैआएको छ।

विक्रम संवत् १७१४ भन्दा अगाडि सन्यासीहरू पशुपतिनाथका पुजारी थिए। त्यसपछि यहीँकै राजोपाध्यायहरूबाट पशुपतिनाथको पूजा गरिन्थ्यो। क्रमशः पशपतिनाथका पूजारीको सहायताका लागि बनेपाबाट नेवार जातिका पुजारीहरूलाई पशुपतिको भण्डारे बनाइयो। पछि प्रताप मल्लले कर्नाटकको राजासँग सम्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रूपमा तान्त्रिकहरू ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपालमा दाइजोका रूपमा आएका र पछि तिनै तान्त्रिक भट्टहरूको मागअनुसार भट्टहरू पशपतिनाथका पुजारी बनाइए। अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मूल भट्टसहित दक्षिण भारतका चारजना भट्ट पुजारी र १०६ जना नेवार भण्डारीहरू छन्। पशुपतिक्षेत्र देवपाटनमा जन्मिएका भण्डारीहरूलाई मात्र पशुपतिनाथका पूजामा चलाइन्छ। भट्ट र भण्डारीहरू गृहस्थ हुन्छन्। पशुपतिनाथका चार ढोका बिहान चार बजे खुल्छन् । बिहान साढे आठ बजे भट्टहरू भित्र प्रवेश गर्छन्। पशुपतिनाथको क्षेत्रफल २६४ हेक्टर भूभाग छ र यस क्षेत्रभित्र ५१८ वटा मन्दिर र धार्मिक स्मारक छन्।

विक्रम संवत् १४६५ मा राजा ज्योतिर्मल्लले पशुपति अभिलेखमा उल्लेख गरेका थिए, ‘पुण्यभूमि नेपालखण्डमा वत्सलेस पाँचमुख भएका परम पशुपति बाग्मतीको तीरमा हुनुहुन्छ र यहीँ पूज्य बाशुकी नाग पनि हुनुहुन्छ।’ राजाहरूमा प्रताप मल्लले पशुपतिनाथको धेरै सेवा गरेको पशुपतिनाथमा प्रशस्त शिलालेखहरू पाइन्छन्। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दाको समयमा पशुपतिनाथको पूजाअर्चना गरेको कुरा भाषा वंशावलीमा उल्लेख छ । पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका विजयपछि विक्रम संवत् १८२६ मा वसन्तपुर दरबारको अभिलेखमा उल्लेख छ, ‘राजा पृथ्वीनारायण शाहको वंश गुह्येकाली र पशुपतिको दुईपाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस् ।’ यसैगरी शाहवंशीय राजाहरूमा रणबहादुर शाह र विक्रम संवत् १८६७ मंसिरमा राजा गिर्वाणयुद्धविक्रम शाहबाट पुजारीहरूको अलग अलग खानकी तोकिदिएका थिए । राजा महेन्द्र तथा राजा वीरेन्द्रबाट पनि साबिकबमोजिम चल्दै आएका पशुपतिनाथको पूजाआजासम्बन्धी अनेकौँ लालमोहरहरू लागू हुँदै आएका छन्। विश्वभरिका हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्तिकहरू आत्मगौरव मान्छन् भने नास्तिकहरू यस क्षेत्रलाई परम्परागत अस्तित्व ठान्छन् । २०७५ सालको साउन महिना सबैका लागि शुभ बनोस्।

(दीर्घराज प्रसाईको लेखलाई नागरिक दैनिकबाट साभार गरिएको हो।)