काठमाडौँ । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङमा आइतबार साँझ अपहरण गरिएका ११ वर्षीय बालक निशान खड्काको शव भेटिएको छ । बालकको अपहरणमा संलग्न भएको आरोप लागेका दुई जना प्रहरीसँगको मुठभेडमा मारिएका छन् ।

आइतबार साँझ आफ्न डेरा नजिकबाट अपहरणमा परेका बालकको प्रहरीले खोजी गरिरहेको थियो। भक्तपुरकोमध्यपुर थिमी-९ स्थितनगदेशमा बन्दै गरेको घरको प्रांगणमाखाल्डो खनेर गाडेको अबस्थामा बच्चाको शव भेटिएको हो।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अपहरणकारी खोज्ने क्रममा सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक गणेस्थान मन्दिरको दक्षिण क्षेत्रमा अवस्थित ज‌ंगलमा भएको मुठभेडको क्रममा मारिएको प्रहरीले जनाएको छ।

मारिनेहरुमा नुवाकोटका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोकका २३ वर्षीय अजय तामाङ रहेका छन्। एक जना शंकास्पद महिला पक्राउ परेको पनि प्रहरीले जनाएको छ।

‘अपराधीहरुलाई खोजी गर्ने क्रममा भेटिएकाहरुलाई पक्राउ गर्न खोज्दा भएको मुठभेडमा दुई जना मारिएका छन्’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धीरजप्रताप सिंहले भने। उनीहरु साथबाट एउटा पिस्तोल र धम्क्याउन प्रयोग गरेको एउटा सिमकार्ड पनि बरामद गरेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको मेलम्ची स्थायी घरभएका खड्का आमाको साथमा बस्थे। उनका बुबा रोजगारीको सिलसिलामा मलेसियामा छन्। उनी स्थानीय एक स्कुलमा ६ कक्षामा अध्ययनरत रहेको बताइएको छ। बेलुका ६ बजे घरबाट निस्किएका बालक फिर्ता नआएपछि उनको खोजि सुरु गरिएको थियो। राति ९ बजे पहिलो पटक अपहरणकारीले फोन गरेर फिरौती माग गरेका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार अपहरणकारीले बालकको परिवारसँग ४० लाख रुपैयाँ माग गरेको छ। यसरी भयो इन्काउन्टर, भिडियो हेर्नुहोस :